काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
आइतबार दायर गरिएको उक्त रिटमा गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनीहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ। ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्य तथा लेखकका तर्फबाट यशोदा लेखकले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। यसैबीच, लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै दायर गरिएको अर्को रिटमाथि पनि आजै सुनुवाइ हुने अदालतले जनाएको छ। प्रहरीले ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो। उनीहरूलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। स्वास्थ्य अवस्था कमजोर भएका कारण ओली हाल महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखकलाई महाराजगन्जकै प्रहरीको दुई नम्बर गणमा राखिएको छ।