काठमाडौँ। नेकपा एमाले रामेछापले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति विरोध जनाएको छ। आइतबार मन्थलीमा आयोजित प्रदर्शनपछि एमाले कार्यकर्ताहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका हुन्।
पार्टी कार्यालयबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो, जहाँ ओली र लेखकको तत्काल रिहाइको माग गरिएको थियो। एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया ले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लाई विरोधपत्र हस्तान्तरण गरेका थिए।
पार्टी सचिव प्रकाशकुमार कार्कीले निष्पक्ष छानबिनप्रति आपत्ति नभए पनि गैरन्यायिक पक्राउको विरोध गरिएको बताए। कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ ले सरकारको कदमप्रति आलोचना गर्दै सबैलाई सचेत रहन आग्रह गरेका थिए। एमालेले यस घटनालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आन्दोलनलाई निरन्तरता दिने संकेत गरेको छ।