काठमाडौँ । भूटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि अभियान चलाउँदै आएको भूटानी अधिकार समूहले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ।
संस्थाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको नियुक्तिलाई ऐतिहासिक उपलब्धि भन्दै सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको अपेक्षा व्यक्त गरेको छ। साथै, नेपालमा दशकौँदेखि बसोबास गरिरहेका भूटानी शरणार्थीहरूको समस्या समाधानलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ। संस्थाका अनुसार हजारौँ भूटानी शरणार्थी अझै अनिश्चिततामा जीवन बिताइरहेका छन् र दीगो तथा सम्मानजनक समाधानको प्रतीक्षामा छन्। अन्तर्राष्ट्रिय पुनर्वास कार्यक्रमबाट केही राहत पुगे पनि उल्लेख्य संख्या अझै अधिकार, अवसर र सुरक्षाको अभावमा रहेको बताइएको छ।
पूर्वी नेपालका करिब ६ हजार ५०० शरणार्थीका लागि स्वेच्छिक स्वदेश फिर्ती, स्थानीय समायोजन वा तेस्रो मुलुकमा पुनर्स्थापनाका स्पष्ट विकल्प सुनिश्चित गर्न समूहले माग गरेको छ। साथै, भूटानसँग कूटनीतिक पहल गरी सुरक्षित र सम्मानजनक पुनरागमनका लागि संवाद पुनः सुरु गर्न र शरणार्थी प्रतिनिधित्वसहित कार्यदल गठन गर्न पनि आग्रह गरिएको छ। स्थायी समाधान नआएसम्म शरणार्थीहरूको कानुनी हैसियत, संरक्षण र आधारभूत अधिकार सुनिश्चित गर्न, व्यवस्थापन प्रणालीमा देखिएका कमजोरी सुधार गर्न तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्नुपर्नेमा पनि जोड दिइएको छ। समूहले प्रधानमन्त्री शाहको नेतृत्वमा यी विषयले आवश्यक प्राथमिकता पाउने विश्वास व्यक्त गर्दै भूटानी शरणार्थी समस्याको मानवीय र दीगो समाधानतर्फ नेपाल अघि बढ्ने अपेक्षा गरेको छ। साथै, भूटानका जेलहरूमा अझै बन्दी अवस्थामा रहेका राजनीतिक कैदीहरूको रिहाइका लागि पहल गर्न पनि आग्रह गरिएको छ।