काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध शनिबार काठमाडौँमा भएको प्रदर्शनका क्रममा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको गतिविधि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
प्रदर्शनका क्रममा ओझाले सार्वजनिक सडकमा कपडा फुकाल्दै ‘मलाई गोली ठोक्नुस्’ भन्दै सरकार र प्रधानमन्त्री बालेन शाह विरुद्ध नाराबाजी गरेका थिए। उनको उक्त व्यवहारले सुरक्षाकर्मी र सर्वसाधारणलाई समेत आश्चर्यमा पारेको थियो। आक्रोशित अभिव्यक्तिसहित उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङ को आलोचना गर्दै ओलीको पक्राउप्रति आपत्ति जनाएका थिए। उनले आफूले स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा गरेको कामको तुलना गर्दै चुनौतीसमेत दिएका छन्।
घटनापछि ओझाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ। जिम्मेवार पदमा रहेको व्यक्तिबाट सार्वजनिक स्थलमा गरिएको यस्तो व्यवहारप्रति व्यापक आलोचना भएको छ। प्रयोगकर्ताहरूले जनप्रतिनिधिको आचरण र नैतिकतामाथि प्रश्न उठाउँदै यसलाई ‘राजनीतिक स्टन्ट’ भन्दै टिप्पणी गरेका छन् भने कतिपयले यस्तो हर्कत मर्यादाविपरीत भएको बताएका छन्। ओली पक्राउ प्रकरणसँगै देशको राजनीतिक वातावरण तातेका बेला ओझाको यो घटनाले जनप्रतिनिधिको भूमिका र सार्वजनिक आचरणबारे नयाँ बहस सुरु गराएको छ।