काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गिरफ्तारीको विरोधमा एमालेका भातृ संगठनहरूले आज दोस्रो दिन पनि काठमाडौँसहित देशभर प्रदर्शन जारी राखेका छन्।
माइतीघर मण्डलबाट नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेको एमाले कार्यकर्ताहरूको विशाल ¥यालीलाई प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोकेको छ। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर धकेलाधकेल र घम्साघम्सी भएको छ। प्रदर्शनकारीहरू समूहगत रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर गिरफ्तारी असंवैधानिक भएको दाबी गर्दै ज्ञापनपत्र बुझाउन चाहन्थे। तर, सुरक्षा संवेदनशीलता भन्दै प्रहरीले उनीहरूलाई बबरमहलमै रोकेपछि स्थिति तनावपूर्ण बनेको छ।
एमाले कार्यकर्ताहरूले ’राजनीतिक प्रतिशोध बन्द गर’, ’अध्यक्ष ओलीलाई ससम्मान रिहा गर’ भन्दै सरकार विरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले हिजो (शनिबार) बिहान ओलीलाई उनीहरूकै निवासबाट नियन्त्रणमा लिएको थियो। गत भदौ २३ र २४ गते भएको ’जेनजी आन्दोलन’ का क्रममा भएको दमन र १८ जनाको ज्यान गएको घटनामा गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले उनीहरूलाई ’अपराधिक लापरवाही’ को दोषी ठहर गरेपछि यो कदम चालिएको हो।
एमाले सचिवालयको निर्णय अनुसार आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोध पत्र बुझाइँदैछ। बुटवल, विराटनगर र पोखरा लगायतका प्रमुख सहरहरूमा पनि बिहानैदेखि प्रदर्शन भइरहेका छन्।
प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्ने केही कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ भने सम्भावित मुठभेड रोक्न बबरमहल र माइतीघर क्षेत्रमा ठूलो संख्यामा दङ्गा नियन्त्रण प्रहरी परिचालन गरिएको छ।