काठमाडौँ। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। यसक्रममा परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन भइसकेको छ। प्रमाण नष्ट हुने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा क्षतिग्रस्त भवन भत्काउने काममा प्रहरीले रोक लगाएको छ।
सत्ताको आडमा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध उजुरी परेको थियो र अनुसन्धान विभागले संकलित सूचना र प्रमाणको आधारमा छानबिन अघि बढाइरहेको छ। सम्बन्धित स्रोतका अनुसार, पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनका नजिकका नातेदारहरूको नाममा खरिद गरिएका करिब ७३ रोपनी जग्गा विवरण संकलन भइसकेको छ।
साथै, प्रदीपशम्सेर जबरा, भुषण राणा लगायतका नातेदारहरूसँग भएको कारोबार विवरण अनुसन्धानको हिस्सा बनेको छ। यसैबीच, नक्कली भुटानी शरणार्थी प्रकरण र नेपाल टेलिकमको बिलिङ अनियमिततासँग सम्बन्धित उजुरी पनि छानबिन भइरहेको छ। शेरबहादुर देउवा परिवारले बूढानीलकण्ठ कम्पाउण्डभित्र बनाएका दुई बंगालो भत्काउने काम रोकिएको छ। प्रहरीका अनुसार भवनमा अनुसन्धान प्रभावित हुन सक्ने र प्रमाण नष्ट हुन सक्ने भएकाले उच्च अधिकारीको निर्देशनमा रोक लगाइएको हो।