काठमाडौँ । नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहणसँगै मुलुकले नयाँ राजनीतिक मोड लिएको छ। यसै ऐतिहासिक घडीमा पूर्वप्रधानमन्त्री एवं समाजवादी नेता डा. बाबुराम भट्टराईले १२ वर्षअघि आफूले गरेको भविष्यवाणी र ’नयाँ शक्ति’ को अवधारणालाई स्मरण गरेका छन् ।
प्रधानमन्त्री बालेनलाई बधाई दिँदै डा. भट्टराईले सामाजिक सञ्जालमा सन् २०१४ (२०७० चैत) मा ’नेपाल साप्ताहिक’ मा प्रकाशित आफ्नो चर्चित अग्रलेख “नयाँ शक्तिको खाँचो“ को सन्दर्भ उल्लेख गरेका छन् ।
डा. भट्टराईले त्यतिबेला माओवादीको उच्च नेतृत्वमा रहेकै समयमा लेखेका थिए कि— संविधान निर्माणपछि देशलाई पुरानो विचार र नेतृत्वले मात्र पुग्दैन। उनले ’नयाँ युगको नयाँ कार्यभार’ पूरा गर्न नयाँ नीति, कार्यक्रम र नेतृत्वसहितको ’नयाँ शक्ति’ अपरिहार्य रहेको पैरवी गरेका थिए ।
आज रास्वपाको समर्थनमा बालेन शाह प्रधानमन्त्री बनिरहँदा भट्टराईले भनेका छन् । “नवनिर्वाचित प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई बधाई दिँदै गर्दा मेरो मनमस्तिष्कमा त्यो आलेखको सम्झना झलझली आइरहेको थियो।“ आफ्नो धारणालाई थप स्पष्ट पार्न डा. भट्टराईले कार्ल माक्र्सको प्रसिद्ध कृतिको एक अंश उद्धृत गरेका छन् ।
“मानिसले आफ्नो इतिहास आफैँ बनाउँछन्, तर आफ्नो इच्छा अनुसार मात्र बनाउन सक्दैनन्; उनीहरूले आफैँले रोजेको परिस्थिति अनुसार बनाउने होइन, बरु प्रत्यक्ष सामना गरेको, विद्यमान र विगतबाट आइलागेको परिस्थिति बमोजिम मात्र गर्न सक्छन्।“
भट्टराईका अनुसार नेपालको वर्तमान राजनीतिक अवस्था पनि ठ्याक्कै त्यस्तै मोडमा आइपुगेको छ, जहाँ विगतका संघर्ष र वर्तमानको चाहनाबीच नयाँ नेतृत्वको उदय भएको छ।
डा. भट्टराईको यो भनाइले के संकेत गर्छ भने, आज बालेन शाहको नेतृत्वमा देखिएको परिवर्तनको बीउ धेरै अघिदेखि नै नेपाली समाजमा रोपिइसकेको थियो। उनले २०७० सालमै देखेको ’नयाँ शक्ति’ को सपना आज आएर बालेन र नवोदित दलहरूको उदयसँगै चरितार्थ हुन थालेको विश्लेषण गरिएको छ।