काठमाडौँ । नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहको मन्त्रीपरिषदमा कञ्चनपुरकी गीता चौधरीले कृषि मन्त्रीको रूपमा जिम्मेवारी पाएकी छिन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री शाहसहित अन्य मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद निर्वाचित ३३ वर्षीया चौधरी पेसाले अधिवक्ता हुन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ निवासी उनी थारु समुदायबाट संघर्षपूर्ण यात्रा तय गर्दै सिंहदरबारको यात्रा तय गर्न सफल भएकी हुन्।
सामान्य थारु परिवारमा जन्मिएकी गीताको बाल्यकाल आर्थिक अभावमा बितेको थियो। उच्च शिक्षाका लागि खर्च जुटाउन उनले साहुसँग ऋण समेत लिनु परेको थियो। ’छोरीलाई धेरै पढाउनु हुँदैन’ भन्ने सामाजिक सोचलाई चिर्दै उनले कानुनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरिन्।
अधिवक्ताका रूपमा उनले कञ्चनपुर क्षेत्रका करिब १५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गरेकी छिन्। विशेष गरी घरेलु हिंसा र नागरिक अधिकारका क्षेत्रमा उनले पु¥याएको योगदानले उनलाई समाजमा स्थापित गराएको हो।
२०६२÷६३ को जनआन्दोलनबाट राजनीतिक रूपमा सचेत भएकी चौधरी सुरुमा एमाले निकट विद्यार्थी संगठनमा आबद्ध थिइन्। २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभामा उम्मेदवार बनेकी उनी पछि रास्वपासँग जोडिएकी हुन्। पार्टीले उनको योग्यता र सामाजिक योगदानको कदर गर्दै संसदसम्म पु¥याएको हो।
कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेकी चौधरीले मुक्त कमैया र हलियाको पुनःस्थापनाका लागि सीपमूलक तालिम र आवास कार्यक्रमलाई पनि आफ्नो प्रमुख एजेन्डा बनाएकी छिन्।