काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाह नेतृत्वको नयाँ सरकारका लागि मन्त्रीहरूको नाम टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रालय शिशिर खनाललाई दिने निर्णय भइसकेको छ। त्यसैगरी कानुन मन्त्रीका रूपमा सोविता खनालको नाम पनि निश्चित भएको जनाइएको छ।
रास्वपाका एक शीर्ष नेताका अनुसार प्रमुख मन्त्रालयहरूमा नियुक्ति टुंगिसकेको छ भने अन्य मन्त्रीहरूको नामसमेत करिब अन्तिम अवस्थामा पुगेको छ।सम्भावित मन्त्रीहरूको सूचीमा बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गणेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी र सीता बादी लगायतका नामहरू चर्चामा छन्। यद्यपि ती नामहरूको औपचारिक घोषणा भने अझै गरिएको छैन। स्रोतका अनुसार मन्त्री बन्ने व्यक्तिहरूलाई पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बन्न लागेका बालेन शाह तथा उनका सचिवालय सदस्यहरूले फोन तथा सन्देशमार्फत जानकारी गराइसकेका छन्।
आज दिउँसो साढे १२ बजे बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम रहेको छ। त्यसपछि मन्त्रीहरूको पनि शपथ ग्रहण गराइने तयारी गरिएको छ। यसैबीच सभामुख पदका लागि डीपी अर्याल को नाम टुंगो लागेको बताइएको छ।