काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा र मधेसी मूलका पहिलो प्रधानमन्त्री बन्न लागेका युवा इन्जिनियर बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले बालेनको काँधमा ऐतिहासिक कार्यभार आएको बताउँदै उनको नेतृत्वमा देशले नयाँ दिशा लिने विश्वास व्यक्त गरेका हुन्।
लामो समयदेखि आन्तरिक रूपमा देशको अर्थ–राजनीति संरचनात्मक गत्यावरोधमा फसेको उल्लेख गर्दै भट्टराईले यसलाई चिरेर अघि बढ्न बालेनलाई सुझाव दिएका छन्। आन्तरिक अर्थतन्त्रको सुधार मात्र नभई बाह्य रूपमा तीव्र गतिमा बदलिँदै गएको भू–राजनीतिक अवस्थाका चुनौती र सम्भावनालाई कुशलतापूर्वक व्यवस्थापन गर्नुपर्ने दायित्व नयाँ प्रधानमन्त्रीको काँधमा रहेको उनले बताए।
एक्काइसौं शताब्दीका देश र जनताका आधुनिक आकांक्षाहरू पूरा गर्ने दिशामा नयाँ नेतृत्व सफल हुने भट्टराईको अपेक्षा छ। नेपाली राजनीति लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रिया पार गर्दै अब सुशासन र समावेशी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको भट्टराईले उल्लेख गरे।
