काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनमा बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा बालेन्द्र शाह सर्वसम्मत चयन गरेको छ ।
शाह संसदीय दलको नेता चयन भएसँगै प्रधानमन्त्री बन्ने पक्का भएको हो । बालेन शाहले भोलि (शत्रबार) १२ बजेर ३४ मिनेट जाँदा प्रधानमन्त्रीको रुपमा पदको शपथ ग्रहण गर्ने कार्यक्रम राष्ट्रपति कार्यालयले तय गरेको छ।
सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित दुई तिहाइ बहुमतको नजिक छ । सरकार गठनका लागि सदनको बहुमत अर्थात १३८ मात्र नै पर्याप्त हुन्छ। यस्तो अवस्थामा संविधानतः राष्ट्रपतिले अब सरकार गठनका लागि कुनै आव्हान नगरी प्रतिनिधिसभामा बुहमत प्राप्त दल रास्वपाको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने हुन्छ ।
संविधानको धारा ७६ को १ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरिने ब्यवस्था छ। सोही ब्यवस्था अनुसार अब रास्वपाले बलेन्द्र शाह आफ्नो संसदीय दलको नेता चयन भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयमा गराएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दलको नेता शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यसो त यसअघि नै चैत्र १३ गते शुक्रवार दिउँसो १२ः३४ मा हुने नवनियुक्त प्रधानमन्त्रीको शपथका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी सुरु भएको छ । प्रधानमन्त्रीको शपथ लिएसँगे शाहले भोलि दिउँसो २ः १५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी पदभार ग्रहण गर्ने कार्यक्रमसमेत सार्वजनिक भएको छ ।
यसैबीच, मन्त्रिपरिषद्मा पठाउने मन्त्रीहरूको नाम टुङ्गो लगाउन रास्वपाका शीर्ष नेताहरू यतिखेर छलफलमा छन् ।।