काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक अहिले पार्टी कार्यालय बनस्थलीमा बसिरहेको छ। सिंहदरबारस्थित प्रतिनिधिसभा हलमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका नेता तथा सांसदहरू बैठकका लागि बनस्थली पुगेका हुन्।
यस बैठकको मुख्य आकर्षण पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने विषय रहेको छ। रास्वपाले गत फागुन २१ को निर्वाचनमा शाहलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा होमिएको थियो।
बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा केन्द्रीय समितिमा घनिभूत छलफल भइरहेको छ। बैठकले नयाँ संसदमा पार्टीको भूमिका र आगामी राजनीतिक कदमबारे पनि रणनीति तय गर्ने बताइएको छ।
निर्वाचनमा ’प्रधानमन्त्रीको उम्मेदवार’ का रूपमा प्रस्तुत गरिएका शाहलाई संसदीय दलको नेता बनाउने निर्णयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।