काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले नराम्रो काम गरेको कारण होइन, बरु राम्रो कामको कारणमात्रै हमला भैरहेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “हामी नराम्रो कामबाट पछाडि परेका, पारिएका छैनौं।
राम्रो कामबाट हामीमाथि हमला भयो। त्यसैले हतास हुन, हारेझैं महसुस गर्न, वा मनोबल घटाउन कुनै आवश्यकता छैन। हामी उच्च मनोबलका साथ अगाडि बढ्नुपर्छ किनभने हामी सत्यको पक्षमा छौं र सत्यको मार्गमा छौं। उनले वर्तमान विश्व व्यवस्थालाई अस्थिर र निष्प्रभावी भएको दाबी गर्दै भन्नुभयो, आजको दुनियाँ भनेको विश्वव्यवस्था नै नभएको अवस्थामा छ। संस्थाहरूले आफ्नो प्रभाव गुमाइरहेका छन्। इतिहासमा कहिल्यै भन्दा बढी साझा विश्वव्यापी संस्थाहरू निष्प्रभावी बन्दैछन्। वर्ल्ड अर्डर शब्दकोशमा मात्र सीमित रह्यो, व्यवहारमा अब विश्वव्यवस्था छैन। यसको प्रभावले विश्व राजनीतिमा अराजकता फैलिएको छ र न्यायप्रति कुनै सरोकार नहुने, अन्यायपूर्ण अवस्था सामान्य र स्वाभाविक देखिन थालेको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जाल र पार्टीवृत्तमार्फत फैलाइएका भ्रमलाई तोड्न नसकिएको भन्दै, पार्टीको पक्षमा प्रचार गर्न अझ प्रभावकारी प्रयास आवश्यक रहेको बताए।