काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयका तीन वटा महत्वपूर्ण प्रतिवेदन तथा दस्ताबेज सार्वजनिक गर्ने निर्णय लिएकी छन्। यसअन्तर्गत भदौ २३ र २४ गते घटेका घटनाबारे गठन गरिएको जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन तथा बाल मन्दिरसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘सुशासन मार्गचित्र, २०८२’ सार्वजनिक गरिने भएको हो।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार भदौ २३ र २४ का घटनासम्बन्धी प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेखका रूपमा राखेर सार्वजनिक गर्ने निर्णय बुधबार गरिएको हो। त्यसैगरी, नेपाल बाल संगठन र बाल मन्दिरसम्बन्धी २०७७ सालको उच्चस्तरीय आयोगको प्रतिवेदन पनि मंगलबार सोही पुस्तकालयमा राखेर सार्वजनिक गर्ने निर्णय गरिएको थियो। यसका साथै, गत चैत ३ गते तयार पारिएको ‘सुशासन मार्गचित्र, २०८२’ कार्यान्वयन प्रक्रिया अगाडि बढाइसकिएको र उक्त मार्गचित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिने बताइएको छ।