काठमाडौँ । भदौ २४ गते राज्यविहीनताको मौका छोपेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेलबाट निस्किएका थिए । आक्रोशित भीडले उनलाई जबर्जस्ती भगाएको तथ्य खुलेको छ । घटनाको दिन नख्खु कारागारको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलका डिएसपी संगम श्रेष्ठले यो कुरा खुलाएका हुन् । जेनजी घटना छानबिनका निम्ति गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष उनले दिएको बयानमा तीनदेखि चार हजारको संख्यामा जम्मा भएको भीडले लामिछानेलाई दश मिनेटभित्र बाहिर निकाल भनी चेतावनी दिएको र दिउँसो २ बजेतिर कारागारबाट बाहिर निकालेको उल्लेख छ ।
डिएसपी श्रेष्ठका अनुसार भदौ २४ गते दिउँसो १ बजेतिर ३ हजारदेखि ४ हजारको संख्यामा जम्मा भएको आक्रोशित भीडले कारागारको मूलगेट घेराउ गरेको थियो। भीडको चेतावनीबारे उनले बयानमा भनेका छन ।
३०००–४००० को संख्यामा जम्मा भेला भएकाले रवि लामिछानेलाई १० मिनेटभित्र बाहिर निकाल् भनी तोडफोड, आगजनी र आक्रमणको चेतावनी दिइरहेका थिए।
अवस्था नियन्त्रण बाहिर जान लागेपछि लामिछानेलाई सुरक्षाका लागि कारागारभित्रकै अस्पतालमा लगिएको थियो। डिएसपी श्रेष्ठका अनुसार लामिछाने आफैँ बाहिर जान इच्छुक हुनुहुन्नथ्यो। बयानमा उल्लेख छः
उहाँ (रवि लामिछाने) ले भीडलाई सम्झाउँछु भनी माइकसमेत खोजी रहनुभएको थियो भने म कानूनी रुपमा कारागारभित्र छु, पत्र नलिईकन बाहिर जान्न भन्नुभएको थियो। हल्लाका कारण भीडले सुरक्षाकर्मीलाई हम्मेहम्मे बनाएको अवस्था थियो। त्यही भीडले करिब १५ः०० बजेतिर रवि लामिछानेलाई कारागारबाट बाहिर लिएर गएको थियो।
प्रहरीले मैदान छाडेपछि १,२८१ कैदी फरार
बयानले त्यस दिन सुरक्षा निकायबीचको समन्वय अभाव र लाचारीलाई पनि स्पष्ट पारेको छ। नेपाल प्रहरीको टोलीले कारागार छाडेपछि ४६ जना सशस्त्र प्रहरी मात्र मैदानमा बाँकी रहेको डिएसपीले खुलाएका छन्ः
नेपाल प्रहरीको टोली कारागार परिसर छाडी गयो। अब फिल्डमा हामी सशस्त्र प्रहरी बेसबाट खटिएको जम्मा नफ्री ४६ जनामात्र भयौं। ...कारागारमा रहेका ३ वटै ब्लक भीडले ताला तोडी कैदीबन्दीहरुलाई भगाएको थियो।
श्रेष्ठका अनुसार सो दिन कारागारमा रहेका कुल १,२८१ जना कैदीबन्दीहरू १५ः५० देखि १६ः१५ को बीचमा फरार भएका थिए।
भयङ्कर अराजकताका बीच पनि सशस्त्र प्रहरीले केही इमान्दार प्रयास गरेको डिएसपीको दाबी छ। नेपाल प्रहरीका एक जवानको हतियार जोगाएको प्रसंगलाई उनले यसरी उल्लेख गरेका छन्ः
नेपाल प्रहरीको एक जवानसमेत सशस्त्र प्रहरीको सुरक्षा बेसमा सुरक्षित हुन आएका थिए। उनीसँग १ नाल ३०३ राईफल थियो। उनलाई एपीएफको चुस्ता लगाई हतियारसमेत सुरक्षित गर्न सफल भएका थियौं।
बयानको अन्त्यमा उनले आफू र आफ्ना इन्स्पेक्टर घाइते हुँदा समेत राति १०ः३० बजे नेपाली सेना नआउन्जेल मोर्चा नछाडेको बताएका छन्। उनले आयोगसमक्ष प्रष्ट पारेका छन्ः
मैले मेरो बुद्धिविवेकले भ्याएसम्म व्यवसायिक रुपमा कार्य सम्पादन गरेको थिएँ। मैले कोही पनि कैदीबन्दीलाई भगाउने–भगाउन सहयोग गर्ने कुनै कार्य गरेको छैन।