काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सफलतापूर्वक सम्पन्न भएसँगै नेपालको अन्तर्राष्ट्रिय छवि उकासिएको बताएकी छन्।
निर्वाचन आयोग नेपालले बहादुरभवनस्थित कार्यालयमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले यसपटकको निर्वाचनले देशको प्रतिष्ठा उच्च बनाएको उल्लेख गरिन्। उनले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको बताउँदै आगामी निर्वाचनमा पनि यही मानक कायम राख्नुपर्नेमा जोड दिइन्। उनले देशभरका मतदान केन्द्रमा पुनःमतदानको आवश्यकता नपर्नु निर्वाचनको सफलताको महत्वपूर्ण संकेत भएको बताइन्।
साथै, यसले संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाएको उल्लेख गरिन्। प्रधानमन्त्री कार्कीले आफू पदभार सम्हाल्दा देशमा कानुनी तथा राजनीतिक जटिलता र सुरक्षा चुनौती रहेको स्मरण गर्दै त्यही परिस्थितिमा निर्वाचन सम्पन्न गरिनु उपलब्धिमूलक भएको धारणा राखिन्। आयोगको दृढता र सरकारको सहकार्यले निर्वाचन सम्भव भएको उनको भनाइ थियो। निर्वाचन घोषणापछि जारी अध्यादेशअनुसार करिब १० लाख नयाँ युवा मतदाता सहभागी भएको उल्लेख गर्दै उनले यसले लोकतन्त्रप्रति जनताको विश्वास झन् बलियो भएको बताइन्। स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराएकोमा उनले निर्वाचन आयोगलाई धन्यवादसमेत दिइन्।