काठमाडौँ । भोलि ( बुधबार ) प्रतिनिधिसभाका ज्येष्ठ सदस्य नेपाली काङ्ग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ हुने भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य केसीको बिहान ११ः१५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुन लागेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने र उनैले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने व्यवस्था कानुनमा छ ।
सङ्घीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ । जसमा केसीले २७४ सांसदलाई केसीले शपथ खुवाउने छन् । केसीले प्रतिनिधि सभाबाट सभामुख निर्वाचित नहुँदासम्म सभाको ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गरेर सभा पनि सञ्चालन गर्नेछन् ।
केसीले १२ गते बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित अन्य सदस्यलाई शपथ खुवाउने हुन । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२ जना, नेपाली कांग्रेशका ३७ जना, नेकपा एमालेका २५ जना, नेपाली कम्युनिष्ट पार्टीका १७ जना, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ जना सांसदलाई शपथ खुवाउने कार्यक्रम रहेको सांसद सचिवालयले जनाएको छ ।