काठमाडौँ । भोलि चैत ११ गतेदेखि आगामी तीन दिनसम्म नेपालका विभिन्न उच्च पदस्थ अधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । यस अवधिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यपालिका प्रमुख (प्रधानमन्त्री) देखि व्यवस्थापिकाका प्रमुख र प्रतिनिधिसभाका सदस्यहरूको शपथ कार्यक्रम रहेको छ । संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहणको तालिका अनुसार भोलि ११ गते राष्ट्रपति कार्यलयमा नवनिर्वाचित प्रतिनिधिसभाबाट जेष्ट सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण कार्यक्रम रहेको राष्ट्रपति कार्यलयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सांसदमध्येका ज्येष्ठ सदस्य, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भोलि बुधबार(११) गते शपथ लिनेछन्। उनलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम छ ।
त्यस्तै, राष्ट्रपतिबाट शपथ लिएपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले १२ गते बिहिबार अन्य सदस्यलाई शपथ दिने कार्यक्रम रहेको सांसद सचिवालयले जनाएको छ । ज्ोष्ट सदस्य केसीले अन्य २७४ जना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई शपथ खुवाउनेछन्। यो कार्यक्रम बिहीबार दिउँसो २ः०० बजे सिंहदरबारस्थित पुतली बगैँचामा निर्मित बहुउद्देश्यीय हलमा आयोजना गरिने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।
अआगामी शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिने निश्चित भएको छ। उनले राष्ट्रपति पौडेलसमक्ष शीतल निवासमा शपथ लिनेछन्। शपथको समय भने राष्ट्रपति कार्यालयले हालसम्म यकिन गरिसकेको छैन।
कानुनी व्यवस्था अनुसार ज्येष्ठ सदस्यले सुरुमा राष्ट्रपतिसमक्ष शपथ लिने र त्यसपछि अन्य सदस्यहरूलाई शपथ दिलाउने प्रचलन छ। सभामुख चयन नहुँदासम्म अर्जुननरसिंह केसीले नै प्रतिनिधिसभाको बैठकको अध्यक्षता र सञ्चालन गर्नेछन्।

