काठमाडौँ । चुनावी सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सरकारबाट विदा लिएकी छन् । सोमबार मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रम र सामाजिक सञ्जालमार्फत उनले सरकारबाट बिदा लिएको घोषणा गरेकी हुन्।
आइतबार आफ्नो १०० दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेकी श्रेष्ठले आज मन्त्रालयका अत्यावश्यक बाहेकका अन्य कामबाट बिदा लिएको जानकारी दिएकी छन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय र शुभचिन्तकहरूलाई आभार प्रकट गरेकी छन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छन “आज देखि मैले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अत्यावश्यक काम बाहेक अन्य कामबाट बिदा लिँदै सबै साथीहरूबाट प्राप्त सहयोगका लागि उहाँहरूलाई धन्यवाद दिएको छु। नागरिक सरकारमा रहेर देशको सेवा गर्ने मौका प्रदान गरिदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू, ‘जेन्जी’ भाइबहिनी लगायत सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु।“
पर्यटन क्षेत्रको व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएकी श्रेष्ठ मंसिर २६ गते मन्त्री नियुक्त भएकी थिइन्। उनको सोमबार १०० दिने कार्यकालमा गरेका कामहरू सार्वजनिक गर्दौ सरकारबाट विदा लिएकी छन् ।
निर्वाचन सम्पन्न भई नयाँ संसदको शपथ ग्रहणको तयारी भइरहेका बेला अन्तरिम मन्त्रिमण्डलका सदस्यहरूले पालैपालो बिदा लिने क्रम सुरु भएको छ। श्रेष्ठको राजीनामालाई नयाँ निर्वाचित सरकारका लागि बाटो प्रशस्त गर्ने कदमका रूपमा हेरिएको छ।