काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रमका बीच आयोगले उक्त प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझाउन निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा पदाधिकारीहरूको टोली प्रधानमन्त्री कार्यालय पुगेको थियो। टोलीमा आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबराका साथै आयोगका सचिव कृष्णबहादुर राउत लगायतको सहभागिता रहेको थियो।
प्रतिवेदन ग्रहण कार्यक्रममा प्रधानमन्त्री कार्कीका साथै मन्त्रीपरिषद्का अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा सहितको सहभागिता रहेको थियो ।
आयोगले बुझाएको यस प्रतिवेदनसँगै अब नयाँ सरकार गठन र संसदीय प्रक्रियाका लागि कानुनी मार्ग प्रशस्त भएको छ। आयोगले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सरकार, सुरक्षा निकाय र आम मतदातालाई धन्यवाद समेत ज्ञापन गरेको छ।