काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को क्रममा बालबालिकासम्बन्धी अधिकार उल्लंघनका ३५० घटना दर्ता भएका छन्। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार अधिकांश उल्लंघनका घटना निर्वाचनअघिको प्रचारप्रसार र राजनीतिक गतिविधिमा देखिएका हुन्।
सिजपको प्रतिवेदनका अनुसार कुल ३५० घटनामध्ये निर्वाचनअघि २८६ र निर्वाचनपछि १९ वटा घटना दर्ता भएका छन्। स्थलगत अवलोकन, प्रादेशिक सञ्जाल, र डिजिटल प्लेटफर्मको निगरानीका आधारमा यो तथ्याङ्क तयार पारिएको हो।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले केही राजनीतिक दल र उम्मेदवारलाई कारबाही गरेको छ। आयोगका अनुसार श्रम संस्कृति पार्टी र उम्मेदवार शक्तिबहादुर बस्नेतलाई जनही २५–२५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
सिजपका अध्यक्ष तिलोत्तम पौडेलले यी गतिविधि निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लंघन भएको बताउनुभएको छ। त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषद्का श्रीराम अधिकारीले बालबालिकाको दुरुपयोग रोक्न कडा कानुनी व्यवस्थाको आवश्यकता औँल्याउनुभएको छ।
प्रतिवेदनले राजनीतिक दल, राज्यका निकाय र अभिभावकलाई जिम्मेवार बन्न आग्रह गर्दै आगामी दिनमा चुनावी अभियान र डिजिटल सामग्रीमा बालबालिकाको प्रयोग नगर्न सिफारिस गरेको छ।