काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा राष्ट्रिय युवा संघ नेपालले तालाबन्दी गरेको छ।प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्ति विषयमा रावलले पार्टीभित्र परामर्श नगरेको आरोप लगाउँदै युवा संघले आइतबार उक्त कदम चालेको हो।
कञ्चनपुरको कृष्णपुर नगर कमिटीले दलको कार्यालयमा तालाबन्दी गरेको जनाएको छ। युवा संघले रावललाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गर्दै पार्टीभित्रको असन्तुष्टि सार्वजनिक गरेको छ। यस विषयमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पनि असन्तुष्टि जनाउँदै राजनीतिक नियुक्तिका विषयमा संसदीय दल र प्रदेश सरकारबीच पर्याप्त समन्वय नभएको भन्दै पार्टी केन्द्रलाई जानकारी गराइसकेको स्रोतले जनाएको छ। प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि उक्त विषय पार्टी केन्द्रसम्म पुर्याइएको पुष्टि गरेका छन्।