काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ। पार्टीले उनको नेतृत्वमा मुलुकलाई जटिल अवस्थाबाट सुरक्षित रूपमा अघि बढाउन सफल भएको उल्लेख गरेको हो।
शनिबार बालुवाटारमा पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा प्रशंसा गरेको थियो। विभिन्न पक्षबाट चुनावबारे आशंका उठिरहेका बेला सबैलाई समेटेर देशभर एकैपटक स्वच्छ रूपमा निर्वाचन सम्पन्न गराउनु महत्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ थियो। भेटका क्रममा अध्यक्ष घिसिङले चुनौतीपूर्ण परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मुलुकलाई राजनीतिक स्थायित्वतर्फ उन्मुख गराएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरे।
साथै, आफू निर्वाचनमा पराजित भए पनि देशले जित हासिल गरेको भन्दै आगामी दिनमा संसदबाहिरबाटै देशका लागि काम गर्ने प्रतिबद्धता जनाए। प्रधानमन्त्री कार्कीले भने उज्यालो नेपाल पार्टीले निर्वाचन प्रक्रियामा सहभागी भई लोकतान्त्रिक अभ्यासलाई बलियो बनाएको भन्दै प्रशंसा गरिन्। उनले घिसिङले सरकारको सफलतामा खेलेको भूमिकाको पनि सराहना गरिन्। प्रधानमन्त्रीले पार्टीभित्र विभिन्न क्षेत्रका विज्ञहरू रहेको उल्लेख गर्दै संसदबाहिर रहेर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान दिन सकिने बताइन्। साथै, एक निर्वाचनको नतिजाबाट निराश नहुन आग्रह गर्दै निरन्तर सक्रिय रहन शुभकामना दिइन्। यसैबीच, उज्यालो नेपाल पार्टीले खाडी क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।