काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति गगन थापाको राजीनामा उपयुक्त नभएको टिप्पणी गरेका छन्। शुक्रबार केन्द्रीय कार्यसमिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको परिणामकै आधारमा नेतृत्वको मूल्यांकन गर्नु उचित नहुने बताए।
केसीले नेतृत्वको भूमिकामा आएका व्यक्तिले बीचमै जिम्मेवारी त्याग्नु नहुने उल्लेख गरे। “पार्टी र देश परिवर्तन गर्ने उद्देश्यसहित नेतृत्वमा आएको व्यक्ति बीचमै हट्नु उचित हुँदैन,उनले भने। उनले कार्यकर्तालाई निर्वाचन परिणामबाट विचलित नहुन आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि स्थायित्व, समृद्धि र विकासका लागि अघि बढ्न आग्रह गर्दै कांग्रेसले लोकतन्त्रको संरक्षणमा सधैं साथ दिने धारणा राखे।
पार्टीभित्र देखिएका समस्या र कमजोरीहरू छोटो समयमा समाधान हुन नसक्ने उल्लेख गर्दै उनले सीमित अवधिमा चमत्कारिक परिवर्तन अपेक्षा गर्नु व्यवहारिक नहुने बताए।