धनगढी । सुदूरपश्चिम प्रदेश सभा अधिवेशन तत्काल आह्वान गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारमाथि कुशासन, कमजोर कार्यसम्पादन र पारदर्शिताको अभाव रहेको आरोप लगाउँदै प्रदेश सभा अधिवेशन तत्काल आह्वान गर्न मुख्यमन्त्री कमलबहादुर शाहलालाई ध्यानाकर्षण गराएको हो।
नेकपाका संसदीय दलका नेता खगराज भट्टले प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएको लामो समय बितिसक्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोप्रति चिन्ता व्यक्त गरेका छन्। चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था अत्यन्त कमजोर रहेको, सरकारले सुशासन कायम गर्न नसकेको र विभिन्न सञ्चार माध्यममार्फत सरकारविरुद्ध गुनासाहरू बढ्दै गएको उल्लेख गर्दै उनले मुख्यमन्त्रीलाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन्।
