काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा अनुशासन र स्थायित्व कायम गर्न निर्वाचन बाहेक अन्य विकल्प नभएको बताएका छन्।
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले भने, “निर्वाचन बाहेक विकल्प नभएकोले भड्किएका मुलुकलाई अनुशासन र लयमा ल्याउन निर्वाचन अपरिहार्य छ। पूराना र नयाँ दलले एउटै टेबलमा बसेर सहकार्य गर्नुपर्छ र निर्वाचन सफलतापूर्वक सम्पन्न गरौं।” उनले भदौको अन्तिम हप्ता घोषणा गरिएको निर्वाचन असोज–कार्तिकमा सम्पन्न हुने कि नहुने विषय जटिल रहेको भए पनि, कठिन परिस्थितिबाट सफलतापूर्वक निर्वाचन सम्पन्न भएको जानकारी दिए। साथै, नयाँ र पुराना राजनीतिक शक्ति बीच संवादको वातावरण तयार भएको पनि उनले बताए। आयुक्त भण्डारीले भाद्र २३–२४ मा भएको विद्रोहपछि संविधानको रक्षा र देशको स्थायित्वका लागि राष्ट्रपतिबाट घोषणा गरिएको निर्वाचनले मुलुकलाई समेट्न सहयोग गरेको बताए।