काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा प्रदेश सभापतिहरूलाई पनि सहभागी हुन आह्वान गरिएको छ। बैठकको मुख्य एजेन्डा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा रहने जनाइएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो।
तर, सभापति गगन थापासहित शीर्ष नेतृत्व पराजित भएपछि पार्टीभित्र समीक्षा र नेतृत्व परिवर्तनको बहस चर्किएको छ। यसैबीच, सभापति थापामाथि राजीनामाको दबाब बढ्दै गएको छ। उपसभापति विश्वप्रकाश शर्मासँगको छलफलमा थापाले पद छोड्ने संकेत गरे पनि उनलाई नछोड्न सुझाव दिइएको बताइएको छ। पार्टीभित्र आगामी महाधिवेशनको मिति तय गर्नुपर्ने माग पनि उठ्दै आएको छ।
