काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका मुद्दालाई संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आयोजित नव निर्वाचित सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सामाजिक न्याय, विभेद न्यूनीकरण र समान अधिकार आफ्नो मुख्य एजेन्डा रहेको बताइन्।
उनका अनुसार, नागरिकता, स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका आधारभूत विषयमा पछाडि पारिएका समुदायको पहुँच सुनिश्चित गर्न आफूले संसद्मा सक्रिय भूमिका खेल्नेछिन्। “लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायले भोग्दै आएको विभेद अन्त्य गर्दै उनीहरूको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउनु मेरो प्राथमिकता हो, उनले भनिन्। श्रेष्ठले दलित, मुस्लिम, मधेसी तथा अपाङ्गता भएका व्यक्तिहरूको समस्या पनि संसद्मा उठाउने योजना रहेको उल्लेख गरिन्। उनले सबै प्रकारका सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न आफूले आवाज उठाउने बताइन्। उनले रास्वपाले समावेशिता र समानताको पक्षमा अघि बढिरहेको भन्दै आफू त्यसको उदाहरणका रूपमा रहेको पनि उल्लेख गरिन्।