काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी को नाम, चुनाव चिह्न र नेतृत्व फेर्न महामन्त्रीले नै प्रस्ताव गरेका छन् । फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट जितेको सो पार्टीमा चुनावी नतिजापछि पुनर्गठनको बहस सुरु भएको हो ।महामन्त्री शरदराज पाठकले सामाजिक सञ्जालमार्फत पार्टी पुनर्गठनको बहस घनिभूत पार्नुपर्ने बताएका हुन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब धरमर–धरमर भएर टुपुक्क राष्ट्रिय पार्टीमात्र बन्ने अवस्थाबाट माथि उठाएर राष्ट्रिय राजनीतिको एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारीररूपान्तरणकारी पार्टी बनाउने हो भने यसको तत्काल व्यापक पुनर्संरचना अत्यन्त जरुरी छ’, पाठकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक भएको पनि बताएका छन् । उनले राप्रपाको एजेन्डामा ठुलो समस्या नभएपनि नेताहरूको चिन्तन र कार्यशैलीमा समस्या रहेको दाबी गरेका छन् ।