काठमाडौँ । उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रम, त्यसक्रममा भएको मानवीय क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षति, राज्य संयन्त्रको भूमिका, आदेश शृंखला तथा बल प्रयोगको औचित्यबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता डा। राजु थापाले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्थामा पनि हालसम्म सार्वजनिक नगरिनु दुस्खद, चिन्ताजनक र लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको जनाएको छ ।
उज्यालो नेपाल पार्टीले माग गरेका बुँदाहरू
१. गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् ।
२.प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको हो भने त्यसबारे स्पष्ट आधिकारिक जानकारी र समयसीमा सार्वजनिक गरियोस् ।
३. प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानूनसम्मत प्रक्रिया तत्काल अघि बढाइयोस् ।
४. पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुनेगरी आवश्यक निर्णय गरियोस् ।
५. भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको आचरण, भीड व्यवस्थापन, आदेश प्रणाली, मानव अधिकार संरक्षण तथा नागरिक स्वतन्त्रताको प्रत्याभूति सम्बन्धी स्पष्ट सुधारात्मक योजना सार्वजनिक गरियोस् ।