काठमाडौं । अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने पूर्वराष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दैै पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गरे ।
साथै, उनले अब भने रास्वपाले पाएको जनादेशलाई खेर जान दिन नहुने टिप्पणी गरे । राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सवैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा उनको जोड थियो । पूर्वराष्ट्रपति यादवले संसदमा प्रतिपक्षी नरहने भन्ने अभिव्यक्ति आफूले सुनेको भन्दै लोकतन्त्रमा प्रतिपक्षीलाई सम्मान गर्दै अघि बढ्न सक्नुपर्ने बताए ।
ठूलो बलिदानीबाट आएको मुलुकमा संविधान बनेको भन्दै संविधानको परिधिभित्र रहेर राजनीतिक दलले आफ्नो क्रियाकलाप अघि बढाउनुपर्ने धारणा उनले राखेका थिए ।