काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै सदनमा दलित समुदायको उपस्थितिको चित्र स्पष्ट भएको छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ एक जना र समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ जना गरी कुल १७ जना दलित समुदायका प्रतिनिधिहरू संघीय संसद्को तल्लो सदनमा पुग्न सफल भएका छन्।
प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ दलित समुदायबाट एक मात्र उम्मेदवार निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा दलित अभियन्ता खगेन्द्र सुनार बाँके क्षेत्र नम्बर ३ बाट भारी मतान्तरले विजयी भएका हुन ।
सुनारले २९ हजार ५५१ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुमन मल्ललाई ९ हजार ९३६ मतान्तरले पराजित गरेका थिए । पराजित मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका। चुनावी मैदानमा कुल २३२ जना दलित उम्मेदवार भए तापनि प्रत्यक्षतर्फ जित निकाल्ने सुनार एक्लो सांसद बनेका हुन ।
निर्वाचन आयोगले चैत २ गते सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार ६ वटा राजनीतिक दलबाट १६ जना दलित उम्मेदवारहरू समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका छन् । यसपटक समानुपातिकतर्फ महिलाको उपस्थिति निकै बलियो देखिएको छ, जहाँ १६ मध्ये १४ जना महिला र मात्र २ जना पुरुष निर्वाचित भएका छन् ।
निर्वाचित समानुपातिक दलित सांसदहरूको नामावली यस्तो छ :-
१ प्रकाश चन्द्र दर्जी पुरुष राष्ट्रिय स्वतन्त्र पार्टी
२ रीमा विश्वकर्मा महिला राष्ट्रिय स्वतन्त्र पार्टी
३ अमृता बि.क. महिला राष्ट्रिय स्वतन्त्र पार्टी
४ सीता बादी महिला राष्ट्रिय स्वतन्त्र पार्टी
५ स्मृति सेन्चुरी महिला राष्ट्रिय स्वतन्त्र पार्टी
६ सुष्मा स्वर्णकार (डिम्पल) महिला राष्ट्रिय स्वतन्त्र पार्टी
७ तारा विश्वकर्मा महिला राष्ट्रिय स्वतन्त्र पार्टी
८ खिमा वि.क. महिला राष्ट्रिय स्वतन्त्र पार्टी
९ हरिना देवी कामी महिला नेपाली काँग्रेस
१० पवित्रा वि.क. महिला नेपाली काँग्रेस
११ मनमाया बि. क. महिला नेपाली काँग्रेस
१२ विष्णुमाया बि.क. महिला नेकपा (एमाले)
१३ नीता घतानी महिला नेकपा (एमाले)
१४ पार्वती वि क महिला नेपाली कम्युनिष्ट पार्टी
१५ गणेश बहादुर विश्वकर्मा पुरुष नेपाली कम्युनिष्ट पार्टी
१६ राधिका रम्तेल महिला श्रम संस्कृति पार्टी