काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आइतबार र सोमबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको रिटमा आज पनि सुनुवाइ हुने भएको हो ।
गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीनमध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
महान्यायाधिवक्ता भण्डारीको यो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।सर्वोच्चको यो सुनुवाइपछि रविको मुद्दामा महान्यायाधिवक्ता कार्यालयको निर्देशन कायम रहने वा नरहने भन्नेबारे टुंगो लाग्नेछ ।