काठमाडौँ । प्रदीप पौडेलले पार्टीलाई आगामी दिनमा थप सुदृढ बनाउन आवश्यक सुधारका विषयमा कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका छन्। नेपाली कांग्रेसका महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत तथा व्यवहारिक पक्षमा गर्नुपर्ने सुधारका विषयमा आफ्नो धारणा तथा सुझाव उपलब्ध गराउन सार्वजनिक अपिल गरेका हुन्। उनले हालै सम्पन्न आम निर्वाचन २०८२ को परिणाम सार्वजनिक भइसकेको र यसअघि पुसमा सम्पन्न विशेष महाधिवेशनले दिएका निर्देशनलाई समेत ध्यानमा राख्दै पार्टीको नियमित महाधिवेशन छिट्टै आयोजना गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्।
यही पृष्ठभूमिमा पार्टीलाई भविष्यमा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको जानकारी पनि उनले दिएका छन्। महामन्त्री पौडेलले पार्टीभित्र आवश्यक नीतिगत, संगठनात्मक तथा व्यवहारिक सुधारका उपायबारे सुझाव दिन कांग्रेसका समर्थक र शुभेच्छुक सबैलाई आग्रह गरेका छन्। प्राप्त सुझावलाई पार्टीले गम्भीर रूपमा लिएर आवश्यक कदम चाल्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। आम निर्वाचनको परिणामलाई समीक्षा गर्दै कांग्रेसले आगामी रणनीति तय गर्ने तयारी गरिरहेको छ। त्यसै प्रक्रियालाई प्रभावकारी बनाउन महामन्त्री पौडेलले सुझाव संकलन थालेका हुन्।