काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । विवादका बीचमा समानुपातिक सांसदको टुङ्गो लागेको श्रम संस्कृति पार्टीले जनाएको छ । श्रम संस्कृतिले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित बाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लगाएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । सो पार्टीले खोटाङ भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ विजय हासिल गरेको हो । समानुपातिकमा पनि पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको हैसियत बनाएको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ । सो पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ ।
