काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा र आगामी राजनीतिक कार्यदिशा तय गर्न दुई दिने विशेष कार्यक्रम सम्पन्न गरेको छ। फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफलमा सहभागी अधिकांश वक्ताले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रमको पहिलो दिन उम्मेदवार, प्रदेश तथा जिल्ला संयोजकहरूबीच निर्वाचन अनुभव, जनसम्पर्क, संगठन विस्तारका सम्भावना, मतदाताको मनोविज्ञान र प्रचार–प्रसार चुनौतीहरूबारे गहन समीक्षा भएको थियो। सहभागीहरूले सीमित समय र स्रोतसाधनका बाबजुद देशव्यापी सम्मानजनक मत प्राप्त भएकोमा सन्तुष्टि व्यक्त गरेका थिए। दोस्रो दिन केन्द्रीय समिति सदस्यबीच छलफलपछि पार्टीलाई थप व्यवस्थित, वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सुदृढ र जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिका रूपमा विकास गर्ने साझा निष्कर्ष निकालेको थियो। बैठकले सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति र प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संरचनालाई दिगो र कार्यमुखी बनाउनेमा विशेष जोड दिएको छ।
पार्टी अध्यक्ष कुलमान घिसिङले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने बताउँदै, चुनौतीपूर्ण परिस्थितिमा पनि देशभर सद्भाव, विश्वास र जनसमर्थन प्राप्त भएको उल्लेख गरेका थिए। उनले संगठन विस्तार, सदस्यता अभिवृद्धि, डिजिटल अभियान, स्थानीय जनसम्पर्क र आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीमा तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। बैठकले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव र निष्कर्षलाई आधार बनाएर देशव्यापी संगठन सुदृढीकरण, निरन्तर संवाद, विकासमुखी एजेन्डा निर्माण, रचनात्मक खबरदारी र मुलधारको राष्ट्रिय राजनीतिक शक्ति निर्माणको दिशामा अघि बढ्ने निर्णय गरेको छ। साथै, निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन भूमिका खेलेको वर्तमान सरकारलाई धन्यवाद र राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक सफलताका लागि बधाई ज्ञापन गर्ने निर्णय समेत गरेको छ।