काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट झिक्ने निर्णय गरेको छ। राष्ट्र बैंकले चैत १ गते उक्त रकम तान्न निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो। बोलकबोल आज दिउँसो ३ बजे हुने बताइएको छ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोड रुपैयाँको दरमा भाग लिएर कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल एकल ब्याजदर वा बहुब्याजदरमा गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ। यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। राष्ट्र बैंकले २८ दिने अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत रकम तान्ने जनाएको छ। निक्षेपको साँवा तथा ब्याज चैत २९ गते भुक्तानी गरिनेछ।