काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एआई र डिजिटल प्रविधिको तीव्र विकासले लोकतन्त्र, अर्थतन्त्र र युवाको भविष्यमा गहिरो प्रभाव पारिरहेको बताएका छन्। नयाँ दिल्लीमा एआईको युगमा लोकतन्त्रस् डिजिटल शासन र युवाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालका निर्वाचनहरूमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेक प्रविधिको प्रयोगले सार्वजनिक बहस र लोकतान्त्रिक प्रक्रियामा चुनौती सिर्जना गरेको बताए।
आफू पेशाले वास्तुविद् भएकाले प्रविधिले स्वास्थ्य सेवा, शिक्षा, आर्थिक अवसर, भौतिक सुविधा तथा ज्ञानको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान दिएको बताए। प्रविधि मुख्यतः लागत घटाउने र काम स्वचालित बनाउने उद्देश्यले मात्र विकास गरियो भने त्यसले मानव श्रमको मूल्य घटाउने र आर्थिक असमानता बढाउने जोखिम रहेको उनको भनाइ थियो।
उनले जेनेरेटिभ एआईको विकाससँगै गलत सूचना र डीपफेकको जोखिम पनि बढ्दै गएको बताए। अत्यन्त यथार्थपरक भिडियो, पाठ र तस्बिरहरू बनाउन सक्ने प्रविधिले सत्य र असत्यबीचको सीमा अस्पष्ट बनाइरहेको उनले बताए।
सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रयोग हुने एल्गोरिदमहरूले प्रयोगकर्ताको संलग्नता बढाउनका लागि प्रायः ध्रुवीकरण र उत्तेजक सामग्रीलाई प्राथमिकता दिने प्रवृत्ति रहेको बताए। नेपालका हालका निर्वाचनहरूमा पनि चुनावी अभियानहरू सडकबाट डिजिटल माध्यमतर्फ सरेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा डीपफेक, गलत सूचना र हेरफेर गरिएका सामग्रीहरू व्यापक रूपमा फैलिएको बताए। लोकतन्त्र साझा तथ्य र विश्वासमा आधारित हुने भएकाले तथ्यहरू नै अस्वीकार गर्न सकिने अवस्थामा लोकतन्त्र कमजोर बन्ने उनले बताए।