काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले पार्टी नेतृत्वले आफूहरूलाई गैरसंवैधानिक र स्वेच्छाचारी ढंगले पदमुक्त गरेको भन्दै आपत्ति जनाएका छन्। प्राकृतिक न्यायको सिद्धान्तविपरीत स्पष्टीकरणको मौकासमेत नदिई कारबाही गरिएको भन्दै उनीहरूले अध्यक्षको कदमप्रति दुःख र खेद प्रकट गरेका हुन्।
एक संयुक्त विज्ञप्ति जारी गर्दै नेताद्वयले आफूहरूलाई पदमुक्त गरिएको जानकारी अनलाइन माध्यमबाट मात्र थाहा पाएको बताएका छन्। उनीहरूले पार्टी विधानको कुन धारा र व्यवस्थामा टेकेर कारबाही गरिएको हो भन्दै अध्यक्षलाई सार्वजनिक जवाफ दिन चुनौतीसमेत दिएका छन्। आफूहरूलाई कारबाही गरिएको विषयमा केन्द्रीय कार्यसमिति स्वयं बेखबर रहेको उनीहरूको दाबी छ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको लज्जास्पद हारको जिम्मेवारीबाट पन्छिन नेतृत्वले आफूहरूलाई बलिको बोको बनाएको नेताद्वयको आरोप छ। आगामी जेठमा महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा पार्टी सुदृढीकरणको पक्षमा र वैचारिक विचलनविरुद्ध सिर्जनात्मक आलोचना गर्नेहरूमाथि स्वेच्छाचारी र शृंखलाबद्ध कारबाही गरिएको भन्दै उनीहरूले संस्थागत सम्बोधनको माग गरेका छन्।
