काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय कार्यलयमा नयाँ सचिव नियुक्त गरेको छ। ललितपुरको सानेपास्थित बी.पी. स्मृति भवनमा आइतबार बसेको समितिको बैठकले पार्टीका सह–सचिव दिनेश थापा मगरलाई केन्द्रीय कार्यलयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकले ‘केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२’ को उपदफा (१.१) को प्रावधान अनुसार मगरलाई यो जिम्मेवारी सुम्पिएको हो।
यसका साथै, बैठकले पार्टीभित्र प्राप्त भएका विभिन्न अनुशासन उल्लंघनका उजुरीहरूमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। पार्टीको विधान र मर्यादाविपरीत क्रियाकलापमा संलग्न भएको भन्दै परेका उजुरीहरूको प्रारम्भिक अध्ययन तत्काल सुरु गरिने विज्ञप्तिमा उल्लेख छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइए अनुसार, अनुशासन समितिले अब उजुरीहरूको वर्गीकरण गरी प्राप्त प्रमाणका आधारमा थप छानबिन अघि बढाउनेछ।
