काठमाडौं । धनुषा १ मा प्रतिनिधि सभा सदस्य पदको चुनावी नतिजाका विषयमा अन्योल उत्पन्न भएको छ।
सर्वोच्च अदालतले आज धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहलाई कालोसूचीबाट हटाउन नेपाल राष्ट्र बैंकलाई आदेश दिएपछि त्यहाँको चुनावी नतिजाका विषयमा अन्योल उत्पन्न भएको हो।
निर्वाचन आयोगले धनुषा १ मा दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार मातृका यादवलाई विजयी प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेजीका बाबजुद धनुषा १ मा साहलाई सबैभन्दा बढी मत परेको थियो ।
तर आयोगले नियमानुसार उनको चुनावचिन्ह घन्टीमा आएको भोटलाई बदर मानेर दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार मातृका यादवलाई विजयी प्रमाणपत्र दिईसकेको छ । अब आजको आदेशपछि यादवको प्रमाणपत्र खोसिनसक्ने अवस्था देखिएको छ ।
सर्वोच्चले भोलि आयोगलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा १ को विषयमा भोली टुंगो लाग्ने बताए ।