इतिहास साक्षी छ, कुनै पनि ठूलो परिवर्तन वा विजय सजिलै प्राप्त हुँदैन। जसरी कुरुक्षेत्रको मैदानमा अर्जुनका अगाडि आफ्नै आफन्त र गुरुहरूको एउटा विशाल पर्खाल खडा थियो, त्यसरी नै यसपटक कास्की निर्वाचन क्षेत्र नम्बर २ को चुनावी मैदानमा उत्तम पौडेल दाइका अगाडि बाह्य चुनौती मात्र होइन, आन्तरिक संशय र षडयन्त्रका चक्रव्यूहहरू पनि रचिएका थिए। आज जब उहाँले भारी मतान्तरले विजयको झन्डा गाड्नुभएको छ, यो केवल एक चुनावी जित मात्र होइन; यो त धैर्यता, रणनीति र अटुट लोक-कल्याणकारी संकल्पको विजय हो।
हाम्रो चुनावी यात्राको सुरुवात कुनै महाभारतको कथाभन्दा कम थिएन। जब उहाँको नाम रास्वपाबाट उम्मेदवारका रूपमा घोषणा भयो, तब आफ्नै भनिएकाहरूबाट "पहुँचका आधारमा टिकट पाएको" भन्ने विषवमन सुरु भयो। राजनीतिमा 'अपवाद' र 'अपवादको राजनीति' सधैं खतरनाक हुन्छ। ११ वटा वडामध्ये १० वटा वडाका सभापतिहरूले सामूहिक रूपमा पत्र लेखेर डेलिगेसन दिनु भनेको कुनै सामान्य विरोध थिएन। त्यो त एउटा यस्तो चक्रव्यूह थियो, जहाँ जोकोही पनि विचलित हुन सक्थ्यो। तर, उत्तम दाइमा मैले त्यो 'स्थिरप्रज्ञ' स्वभाव देखेँ, जुन भगवान् कृष्णले अर्जुनलाई उपदेश दिँदा वर्णन गर्नुभएको थियो। उहाँले विरोध गर्नेहरूलाई कहिल्यै शत्रु देख्नुभएन। हामी रातभरि बसेर छलफल गर्थ्यौँ, "दाइ, आफ्नै घरभित्रको यो आगलागीलाई कसरी निभाउने?" उहाँको एउटै जवाफ हुन्थ्यो, "भाइ, रामले वनवास जाँदा अयोध्याबासीको शंकालाई कहिल्यै गाली गरेनन्, बरु आफ्नो मर्यादा र कर्मले उनीहरूको मन जिते। हामीले पनि हाम्रो क्षमता र नम्रताले नै उनीहरूलाई बुझाउनुपर्छ।"
नभन्दै, उहाँको कार्यकुशलता र सबैसँग समन्वय गर्न सक्ने अद्भुत क्षमताले त्यो विरोधको आँधीलाई समर्थनको मन्द मुस्कानमा बदलिदियो। उहाँको व्यक्तित्वमा यस्तो जादु थियो कि हिजो विरोधका पत्र लेख्ने हातहरू नै पछि उत्तम दाइको काँधमा काँध मिलाएर हिँड्न राजी भए। यो कुनै चमत्कार थिएन, यो त उहाँको २२ वर्षको निष्पक्ष पत्रकारिता र निष्कलंक छविको प्रतिफल थियो।
चुनावी अभियानको दौडान उत्तम दाइको ऊर्जाको त म शब्दमा वर्णन गर्नै सक्दिनँ। उहाँको गति हनुमानको वेग जस्तो थियो। हामी सँगै हिँडेका साथीहरू एउटा घरको दैलोमा पुग्दा उहाँ टोलका कैयौँ घर छिचोलेर अर्को टोलको लागि फर्किनु भइसकेको हुन्थ्यो। कतिपय अवस्थामा त यस्तो भयो कि, एक दिनको दौडधुपले गर्दा सँगै हिँडेका युवा साथीहरू पनि भोलिपल्ट ओछ्यान पर्ने अवस्था आउँथ्यो, तर २२ वर्षसम्म समाजका विकृति विरुद्ध कुदिरहेका उत्तम दाइका गोडाहरू कति पनि थाकेनन्। उहाँको एउटै मात्र ध्येय थियो— "भाइ, चुनाव त जितिन्छ, तर हामीले यस्तो ऐतिहासिक मतान्तर ल्याउनुपर्छ कि भविष्यमा आउने पुस्ताले यो जितलाई एउटा मानक मानोस्।" उहाँको यो अठोटले हामीलाई पनि कहिल्यै थकान महसुस हुन दिएन।
म सम्झन्छु ती रणनीतिक बैठकहरू, जहाँ हामी हरेक वडाको सूक्ष्म विश्लेषण गर्थ्यौँ। महाभारतमा जसरी विदुरले युधिष्ठिरलाई आउन सक्ने संकटका बारेमा पहिले नै सचेत गराउँथे, हामीले पनि त्यसैगरी कास्की-२ का हरेक वडाका समस्या र सम्भावनालाई केलाएका थियौँ। खानेपानीको समस्यादेखि सुशासनसम्म, र बेरोजगारीदेखि स्थानीय विकासका मुद्दाहरूसम्म—हाम्रो गृहकार्य यति बलियो थियो कि विपक्षीहरूका ठूला-ठूला प्रचारबाजी पनि हाम्रो रणनीतिका अगाडि फिक्का देखिए। जनताले उहाँमा एउटा यस्तो सारथी देखेका थिए, जो केवल भाषण गर्दैन, बरु समस्याको गहिराइमा पुगेर त्यसको समाधान खोज्छ।
कास्की-२ का आदरणीय मतदाताहरूले यसपटक जुन माया र भरोसा देखाउनुभयो, त्यो साँचो अर्थमा 'रामराज्य' को परिकल्पना जस्तै थियो। जनताले उहाँलाई उम्मेदवारका रूपमा होइन, आफ्नै अभिभावकका रूपमा स्वीकार गरे। उहाँको सरलता र इमानदारीले नै होला, मानिसहरू स्वत:स्फूर्त रूपमा "यसपालि त उत्तम पौडेल नै हो" भन्दै अघि बढे। आज यो भारी मतान्तरको जितले प्रमाणित गरिदिएको छ कि, यदि नियत सफा छ र संकल्प दृढ छ भने, जस्तोसुकै षडयन्त्रका पर्खालहरू पनि ढल्दा रहेछन्।
अन्तमा, यो विजय एउटा नयाँ यात्राको सुरुवात मात्र हो। उत्तम दाइले संसद्को रोस्टममा उभिएर जब कास्कीको आवाज बुलन्द पार्नुहुनेछ, तब मात्र हाम्रा ती अनिदा रातहरू र वडा-वडामा बगाएका पसिनाहरूले सार्थकता पाउनेछन्। मलाई पूर्ण विश्वास छ, २२ वर्षको पत्रकारिताको अनुभव र यो चुनावी अग्निपरीक्षाले निखारिएका उत्तम दाइले संसद्मा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउनुहुनेछ। दाइ, तपाईंको यो गौरवशाली यात्रामा मेरो साथ, समर्थन र सद्भाव हिजो जस्तै सधैं अटल रहनेछ। तपाईंको कार्यकाल कास्कीको इतिहासमा एउटा स्वर्णिम अध्याय बनोस्।