काठमाडौँ । ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख जनप्रतिनिधिहरूले सभापति गगन कुमार थापाको नेतृत्वमा पार्टीको ऐक्यबद्धता कायम राख्न आग्रह गरेका छन्। बिहीबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाको नेतृत्व अपरिहार्य रहेको बताएका छन्।
विज्ञप्तिमा पार्टीको गरिमामय इतिहास, राष्ट्रियता, लोकतन्त्रको संरक्षण तथा समसामयिक राजनीतिमा प्रभावकारी भूमिका खेल्न गगन थापा योग्य रहेको उल्लेख गरिएको छ। जनप्रतिनिधिहरूले सभापतिको राजीनामाको सम्भावित चर्चा पूर्णतः अस्वीकार गर्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको आवश्यकता औँल्याएका छन्। ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन,बागमती गाउँपालिकाअध्यक्ष वीरबहादुर लोप्चन , महाङ्कालका अध्यक्ष गणेश बहादुर के।सी, गोदावरीकी उप–प्रमुख मुना अधिकारी, महालक्ष्मीकी उप(प्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरे रहेका छन्। जनप्रतिनिधिहरूको यो पहलले पार्टीभित्र एकता र नेतृत्वको निरन्तरता कायम राख्न सकारात्मक संकेत दिएको छ।
