काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनमा आफूले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको र उनको पार्टीले पनि अपेक्षित नतिजा ल्याउन नसकेको स्वीकार गरेका छन्। उनले भने, लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला स्वीकार गर्नु मेरो र हाम्रो पार्टीको कर्तव्य हो।
हामी जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछौँ। ओलीले मतदान गरेर सूर्य चिन्हमा समर्थन गर्ने सबै मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले भने, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन नतिजा आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको उल्लेख गर्दै जनतासँगै रहिरहने, जनताका लागि काम गर्दै जाने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने दाबी गरेका छन्।
उनले मतदाता र समर्थकहरूलाई धन्यवाद दिँदै भने, हामी जनतासँगै रहनेछौँ, जनताका लागि निरन्तर काम गरिरहनेछौँ र तपाईंहरूको विश्वासलाई अझ सुदृढ बनाउँदै अघि बढ्नेछौँ। तपाईंहरू सबैमा हृदयदेखि धन्यवाद। यस संदेशमा ओलीले आगामी दिनमा पनि जनताको पक्षमा काम गर्ने दृढ सङ्कल्प व्यक्त गरेका छन् र राजनीतिक प्रतिबद्धता अडिग रहेको स्पष्ट पारेका छन्।