काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मकवानपुरमा शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न भएको सरोकारवालाले निष्कर्ष निकालेका छन्। राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, कर्मचारी र सञ्चारकर्मीबीचको सहकार्यले निर्वाचन सफल भएको बताइएको छ।
प्रदेश निर्वाचन कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको थियो। मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार सबै पक्षको सक्रिय सहयोग र जिम्मेवार भूमिकाका कारण मतदान सहज ढंगले सम्पन्न भयो। राजनीतिक दलले आचारसंहिता पालना गरेका, सञ्चारमाध्यमले सन्तुलित समाचार सम्प्रेषण गरेका र कर्मचारी तथा सुरक्षा निकायले प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गरेको उनीहरूले बताए। निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले मकवानपुरको निर्वाचन अन्य जिल्लाका लागि उदाहरणीय भएको बताए। प्रारम्भमा केही स्थानमा आचारसंहिता उल्लङ्घन भए पनि अन्त्यतिर सबैले नियम पालना गरेकाले प्रक्रिया व्यवस्थित ढंगले अघि बढेको उल्लेख गरिएको छ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मत परिणाम सार्वजनिक हुने चरणसम्म सबै निकायबाट प्रभावकारी सहयोग प्राप्त भएको र छोटो समयमै समन्वयले निर्वाचन शान्तिपूर्ण भएको बताए। उनले भविष्यमा मतदान प्रक्रियालाई प्रविधिमैत्री बनाउने आवश्यकता पनि औंल्याए। समीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, उम्मेदवार र सञ्चारकर्मीहरूको सहभागिता थियो। सहभागीहरूले आगामी निर्वाचनलाई अझ पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन सुझावहरू प्रस्तुत गरेका थिए।