कामठाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकको मतगणना सम्पन्न भएको छ । उक्त निर्वाचनमा उम्मेदवार बनेका तीन सय बढी उम्मेदवारले एक मत पनि ल्याउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ३ सय ५० उम्मेदवारले एक मत पनि प्राप्त गर्न नसकेको र यसले कतिपय उम्मेदवारले स्वयं आफूलाई वा आफ्नै परिवारको मतसमेत प्राप्त गर्न नसकेको बताए । प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएकामध्ये ५ सय १६ जनाले मात्र कुल सदर मतको १० प्रतिशतको सीमा कटाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ दुई हजार ८ सय ९० जना उम्मेदवारको जमानत जफत भएको छ ।
निर्वाचनमा प्रतिस्पर्धा गरेकामध्ये जम्मा ५ सय १६ जना उम्मेदवारले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन् । जमानत जोगाएका उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र धरौटी रकम फिर्ताका लागि निवेदन दिनुपर्ने प्रक्रिया रहेको आयोगले जनाएको छ ।रीतपूर्वक निवेदन दिएपछि कानुनबमोजिम सो रकम फिर्ता गरिने आयोगले जनाएको छ ।