काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि छ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। यसमध्ये एउटा नयाँ दल थपिएको छ भने पाँच दल पुरानै रहेका छन्।
यसपटकको निर्वाचनबाट श्रम संस्कृति पार्टी पहिलोपटक राष्ट्रिय दल बनेको छ। हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत थ्रेसहोल्ड पार गर्न सफल भएको छ।
यससँगै अन्य राष्ट्रिय दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। यीमध्ये अधिकांश दल यसअघिको विघटित प्रतिनिधिसभामा पनि राष्ट्रिय दलको रूपमा रहेका थिए भने श्रम संस्कृति पार्टी भने यसपटक पहिलोपटक राष्ट्रिय राजनीतिक शक्तिका रूपमा उदाएको हो।