काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ निर्वाचन क्षेत्र नं. १ का तत्कालीन उम्मेदवार रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । मिश्रले निर्वाचन कार्यालयमा २३ लाख २६ हजार ४०२ रुपैयाँ खर्च भएको औपचारिक विवरण बुझाएको हो ।
सार्वजनिक गरिएको विवरण अनुसार सबैभन्दा बढी खर्च सचिवालय व्यवस्थापन र मिडिया प्रचारप्रसारमा भएको देखिएको छ। सचिवालय व्यवस्थापन, मिडिया र ग्राफिक्सका उत्पादन, सवारी साधन र इन्धन जस्ता विषयमा खर्च गरिएको मिश्रले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेका छन् ।
अन्तरक्रिया र घरदैलो खाना, प्रचार सामग्री र विज्ञापन गरि जम्मा २३ लाख २६ हजार ४०२ रुपैयाँ खर्च गरिएको जनाएको छ । मिश्रले निर्वाचनको समयमा प्राप्त भएको सहयोग रकम र भएको खर्चको विवरण सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गर्दै राजनीतिमा पारदर्शिताको संस्कृति बसाल्नुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगको नियमानुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।