काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित शक्ति सन्तुलन स्पष्ट हुँदै गएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक मतका आधारमा करिब ५७ सिट प्राप्त गर्ने अनुमान गरिएको छ। यद्यपि निर्वाचन आयोगले सिटको अन्तिम निर्धारण भने अझै गरिसकेको छैन। आयोगले प्रयोग गर्ने ‘सेन्ट–लग’ सूत्रअनुसार हालसम्म प्राप्त मतका आधारमा सिट बाँडफाँट गर्दा रास्वपाले करिब ५७ सिट पाउने देखिएको हो।
यदि यही संख्या कायम भयो भने रास्वपाको प्रतिनिधिसभामा कुल १८२ सिट पुग्नेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई सिटले मात्र उक्त बहुमतबाट टाढा रहने देखिन्छ। स्वतन्त्र उम्मेदवार महावीर पुन भने रास्वपाको समर्थनमा निर्वाचित भएका छन्। समानुपातिकतर्फ रास्वपाले कुल १ करोड ७ लाख ६४ हजार ८ सय ८९ सदर मतमध्ये ५१ लाख ४६ हजार ६ सय ८१ मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७ प्रतिशतभन्दा बढी हो। समानुपातिकतर्फ सिट पाउने दलको संख्या भने छवटा रहने देखिएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकतर्फ करिब २० सिट पाउने अनुमान गरिएको छ। प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसको कुल सिट संख्या करिब ३८ पुग्ने देखिन्छ, जुन अघिल्लो प्रतिनिधिसभाको ८९ सिटभन्दा निकै कम हो। त्यसैगरी नेकपा एमालेले समानुपातिकबाट करिब १६ सिट प्राप्त गर्ने अनुमान छ। प्रत्यक्षमा ९ सिट जितेको एमालेको कुल सिट संख्या करिब २५ पुग्ने देखिन्छ। अघिल्लो संसद्मा एमालेसँग ७९ सिट रहेको थियो।
नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ९ सिट पाउने देखिएको छ। प्रत्यक्षमा ८ सिट जितेको उक्त दलको कुल सिट संख्या करिब १६ पुग्ने अनुमान गरिएको छ। त्यसैगरी श्रम संस्कृति पार्टी र राप्रपाले समानुपातिकबाट ४र४ सिट पाउने सम्भावना रहेको छ। श्रम संस्कृतिले प्रत्यक्षमा ३ सिट जितेकाले उसको कुल सिट ७ पुग्ने देखिन्छ भने राप्रपाले प्रत्यक्षमा १ सिट जितेकाले कुल ५ सिट हुने अनुमान छ। यस निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले भने समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेपछि कुनै सिट प्राप्त गर्न सकेनन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक मतगणना सकिएकाले अब सिट बाँडफाँटको प्रक्रिया अघि बढाइनेछ। सिट निर्धारण भएपछि दलहरूलाई तीन दिनभित्र बन्दसूचीबाट नाम सिफारिस गर्न पत्राचार गरिने उनले जानकारी दिए। त्यसपछि आयोगले सूची परीक्षण गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ।