काठमाडौँ । सत्ता र सुविधाको मोहमा अल्झिने राजनीतिक संस्कारका बीच चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट बाहिरिने तयारीस्वरूप उनले आफूले प्रयोग गर्दै आएको कुटनैतिक राहदानी विभागलाई फिर्ता गरेको जानकारी दिएका छन् ।
सार्वजनिक पद धारण गरेको व्यक्तिको हैसियतमा आफ्नो जिम्मामा रहेको एक मात्र सरकारी सम्पत्ति प्रस्थानको तयारीस्वरूप फिर्ता गरेको मन्त्री खनालले जानकारी दिएका छन् । राहदानी विभागमा पुगेर विधिवत् रूपमा ’रातो पासपोर्ट’ बुझाएसँगै उनले अब साधारण नागरिकको हैसियतमा फर्किएको जानकारी दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै उक्त विषयमा जानकारी दिएका हुन ।
राहदानी बुझाएपछि मन्त्री खनालले “मैले सार्वजनिक पदमा रहँदा राज्यबाट पाएको यो एक मात्र सम्पत्ति थियो, जसलाई आज ससम्मान फिर्ता गरेको छु। पद सकिएपछि राज्यको सुविधा बोकेर हिँड्नु नैतिकताले दिँदैन।“ उनले बताए ।
